अन्तिम मतदानको अघिल्लो रात, केदारनाथको गुफाभित्र मोदीको ध्यान

98

ऐजेन्सी, जेठ ५,
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको अन्तिम चरणको मतदान हुनुभन्दा अघिल्लो रात मोदीले हिन्दु धार्मिकस्थल केदारनाथको गुफामा ध्यान गरेका छन् । मोदीले समुद्र सतहदेखि ११ हजार ७ सय फिट उचाइमा रहेको गुफाभित्र रात बिताएका हुन् । मोदीले ध्यान गरेको गुफाभित्र ओछ्यान, बत्ती र शौचायलको व्यवस्था गरिएको छ। गुफाभित्र मोदीले रातभरि नै ध्यान गरे वा निदाए भन्ने खुलाइएको छैन। उनलाई गुफाभित्र रातिको खाना पठाइएको थियो। भारतीय लोकसभाको चुनावी प्रचार सकेर मोदी शनिबार बिहान केदारनाथ गएका थिए। उनी आइतबार उत्तराखण्डमै पर्ने अर्को धाम बद्रीनाथ जाने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको यो तिर्थाटनलाई निजी भ्रमण भनिएको छ।

‘म भगवानसँग कहिले पनि केही माग्दिनँ, म यहाँ शान्ति, प्रार्थना र ध्यानका लागि आएको हुँ,’ आइतबार बिहान मोदीले सञ्चारकर्मीसँग भने। यसैबीच मोदी उम्मेदवार रहेको बनारसलगायत ५९ सिटमा आज लोकसभाका लागि मतदान हुँदैछ। आज हुने सातौं चरणको मतदानसँगै अप्रिल ११मा सुरू भएको भारतीय लोकसभाको मतदान प्रक्रिया सकिनेछ। भारतीय निर्वाचन आयोगले आगामी बिहीबार लोकसभा चुनावको मतपरिणाम सार्वजनिक गर्ने जनाएको छ।