कुकुरले माटो हटाएर बचायो आमाले खेतमा जिउँदै पुरेको शिशुको ज्यान

55

एजेन्सी, जेठ ५,
काठमाडौँ । थाइल्याण्डमा १५ वर्षकी किशोरीले आफ्नो जिउँदो बच्चालाई एउटा खेतमा माटोले पुरेकी थिईन । उक्त नवजात शिशुको ज्यान एउटा कुकुरले बचाएको छ । यस घट्नाबारे जानकारी पाएपछि १५ वर्षकी किशोरीलाई पक्राउ गरिएको छ । डेली मेलका अनुसार गत बुधबार बिहान उत्तर–पूर्व थाइल्याण्डको कोराटमा जब ४१ वर्षका उस्सा निसिका खेत पुगे तब उनको कुकुर पिंगपंग केही टाढा गएर खेतको माटो खोतलिरहेको भेटियो । कुकुरले के खोतलिरहेको होला भनेर हेर्न पुग्दा उनले त्यहाँ शिशुको खुट्टा देखे । उनले तत्काल बच्चालाई माटो मुनीबाट निकालेर अस्पताल पुर्याए । बच्चालाई खासै ठूलो चोट लागेको छैन । यसबारे उनदले पुलिसलाई समेत जानकारी दिए ।

उस्सालाई कुकुरबारे प्रश्न सोध्दा उनले पिंगपंग जन्मिएदेखि नै आफूसँगै भएको जानकारी दिए । आफ्नो आफ्नो कुकुर निकै वफादारसमेत भएको बताए । उनले भने, ‘उसको तीनवटा खुट्टाले मात्र काम गर्छ किनभने कार दुर्घटनामा उसको पछाडिको खुट्टा भाँच्चिएको थियो । यस्तो अवस्थामा हुँदा पनि पिंगपंगले मलाई निकै मद्दत गरेको छ । ऊ मसँगै भएपछि मैले गाइहरुलाई राम्रोसँग पाल्न सकिरहेको छु । अब अहिले उसले बच्चाको ज्यान बचाएको छ, उसको काम देखेर सबै चकित छन् । ऊ अब सबैको हिरो बनेको छ ।’

उजुरीपछि पुलिसले सुरुवाती सोधपुछमा स्थानीयसँगको सोधपुछमा खासै जानकारी पाउन सकेनन् । त्यसपछि एक पसलेले एक किशोरीले अत्यधिक स्यानिटरी टावेल खरिद गरेको जानकारी दिए । उक्त जानकारीपश्चात् बिहिबार किशोरीलाई पक्राउ गरियो । किशोरीले छोरा जन्माएको केही बेरपछि नै गाडेको जानकारी दिइन् । किशोरीले पुसिललाई दिएको जानकारी अनुसार आमा–बुवासँग डर लागेका कारण बच्चालाई गाडेकी थिइन् ।

किशोरीका आमा–बुवालाई बच्चाको हेरविचारका लागि प्रस्ताव गरियो । यद्यपी, पुलिस अधिकारी र बच्चाको परिवारबीच सहमती बन्न सकेन । अधिकारीले पुलिस र सरकारी कल्याण विभागका कर्मचारीलाई सुरक्षाको जिम्मेवारी दिएका छन् । गभर्नरका अनुसार पुलिस किशोरीमाथि मुद्दा चलाउने तयारी गरिरहेको छ तर बच्चाको हेरविचार बारे पनि सोच्नुपर्छ ।-राटोपाटी