‘एकवर्षमा कति फरक भयो, अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’

69

जेठ ६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एक वर्षमा मुलुकको विकासमा देखिने गरी परिवर्तन आउने दावी गरेका छन् । सोमबार धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गर्दै उनले आउँदो वर्ष देशमा धेरै परिवर्तन देखिने बताए । ‘एकवर्षमा कति फरक भयो । अर्काे वर्ष हेर्नुस् कति फरक हुन्छ’ उनले भने ‘यही हुन्छ भनेर छटपटी भएको छ ।’

सरकारले राम्रो काम गरेपछि जनतामा भ्रम सिर्जना गर्ने कोशिस भइरहेको भन्द प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेहरु गणतन्त्रको विरोधी रहेको आरोप लगाए । ‘अविश्वास सिर्जना गर्नेहरु जसको एक थोपा पनि गणतन्त्र ल्याउन भूमिका छैन, अहिले हामीलाई लोकतन्त्र सिकाइरहेका छन्’ उनले भने । नेपाल सानो देश भनेर आफैलाई अवमूल्यन गर्न नहुने भन्दै उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा आफ्नो अनुभव बाँड्नुपर्ने बताए । ‘नेपालजस्तो सानो देशले दुनियाँका मञ्चमा पनि भूमिका देखाउने हो र भन्ने प्रश्न गरिन्छ’ प्रधानमन्त्री ओलीले भने ।

पाँचथरको चिवाभञ्ज्याङदेखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना सुरु गरेको छ । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले यो योजना दुई वर्षभित्र पूरा हुने बताए । अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उनले जानकारी दिए । Onlinekhabar