बादल र प्रचण्डको सम्बन्ध बिच्छेद

120

जेठ ७,
काठमाडौँ । एमाले र माओवादी मिलेर बनेको नेकपाभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको छ । पूर्वमाओवादी समूहका बरिष्ठ नेता एवं गृहमन्त्री रामबहादुर थापा (बादल) औपचारिकरुपमै प्रचण्डको साथ छाडेर ओली समूहमा समाहित भएपछि पार्टीभित्रको शक्ति सन्तुलनले नयाँ मोड लिएको हो । गृहमन्त्री बादलले आफूलाई पार्टीभित्र दह्रो साथ दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई एकीकृत पार्टीको संगठन विभाग प्रमुख बनाउने तयारी गरेका छन् ।

यसै साता जनवर्गीय संगठनहरुको एकता टुंग्याएको नेकपाले आज (मंगलबार) संगठन विभाग लगायत विभिन्न विभागहरुको टुंगो लगाउन सचिवालयको बैठक बोलाएको छ । आज बस्ने सचिवालय बैठकमा बादललाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिने अध्यक्ष ओलीको तयारी छ ।

प्रचण्ड र वैद्यलाई पालैपालो धोका !

किशोरावस्थादेखि नै प्रचण्डसँग मिलेर कम्युनिस्ट आन्दोलनमा सक्रिय रहेका बादल ०५२ सालमा जनयुद्ध प्रारम्भ हुँदा प्रचण्डका मुख्य सारथीमध्ये एक थिए । तर, जनयुद्ध सुरु भएको डेढ वर्ष नबित्दै बादलमाथि सांस्कृतिक विचलनसम्बन्धी आरोप लाग्यो र उनी अनुशासनको कारवाहीमा परे । माओवादी पार्टीले त्यसबेला बादललाई ‘लिन प्याओवादी’ भएको आरोपसमेत लगाएको थियो । लिन प्याओ चिनियाँ कम्युनिष्ट पार्टीका नेता थिए, जसले आफूलाई माओ त्सेतुङको उत्तारधिकार बताउँदै माओलाई नै सिध्याएर पार्टी नेतृत्व हत्याउने षड्यन्त्रकारी भूमिका खेलेका थिए । पछि उनी प्लेन दुर्घटनामा परे ।

बादलले पार्टी कमिटीमा र चुनावको टिकट वितरणमा आफ्नो हात बलियो बनाए । र, अहिले केपी ओलीको साथ पाएपछि पार्टी र सरकार दुबै ठाउँमा बादल पक्षका नेताहरुको बलियो उपस्थिति छ । प्रचण्डले जनयुद्धकालमा बादलमाथि ‘लिन प्याओवादी’ भएको आरोप लगाउनुको अर्थ यही थियो कि उनी प्रचण्डको नजिक देखिएर षड्यन्त्रमार्फत प्रचण्डलाई नै पार्टीबाट विस्थापित गर्ने बाटोमा हिँड्दै छन् । भलै बादलले पार्टीभित्र आत्मालोचना गरे र जनयुद्धमा निरन्तर रुपमा लागे । पार्टीले उनको कारवाही फिर्ता लियो । र, एक दशकपछि चुनबाङ बैठकसम्म आइपुग्दा बादलले आफू प्रचण्डमा विलय भएको भन्दै प्रचण्डलाई अंकमाल गरेर धरधरी रोएका थिए ।

तर, रुँदैरुँदै प्रचण्डमा विलय भएँ भनेका बादलले वैद्य र प्रचण्डवीच पार्टी विभाजन हुँदा मोहन वैद्यलाई साथ दिए । वैद्य समूहमा उनी पार्टीको महासचिव एवं संगठन विभाग प्रमुख बनेका थिए । तर, नेताहरुको ठूलो टीम भइकन पनि बादलले पार्टी हाँक्न सकेनन् । तर, एकाध वर्षपछि फेरि मोहन वैद्यलाई धोका दिएर उनी प्रचण्डकै पार्टीमा फर्किए । र, माओवादी-एमालेवीच पार्टी एकता भएसँगै वादल पनि नेकपामा आइपुगे । अहिले उनी त्यसैको बलमा पूर्वमाओवादी समूहको तर्फबाट गृहमन्त्री बन्न सफल भए ।

विगतमा माओवादीले बादलमाथि लगाएको ‘लिनप्याओवादी’ वादीको आरोप यतिबेला आएर चरितार्थ हुन थालेको पूर्वमाओवादीका कतिपय नेताहरुको बुझाइ छ । बादलले मोहन वैद्यलाई धोका दिएर प्रचण्ड समूहमा फर्कँदै गर्दा आफ्नो बार्गेनिङ क्षमता ह्वात्तै बढाए । पार्टीभित्र निकै नै कमजोर रहेका बादलले पार्टी कमिटीमा र चुनावको टिकट वितरणमा आफ्नो हात बलियो बनाए । र, अहिले केपी ओलीको साथ पाएपछि पार्टी र सरकार दुबै ठाउँमा बादल पक्षका नेताहरुको बलियो उपस्थिति छ ।

ओली र बादलको ‘केमेष्ट्री’ मिल्यो

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वएमालेमा रहेका आफ्ना विपक्षीलाई तह लगाउन बादलको बलियो साथ पाएका छन् । बादललाई साथ लिएर अध्यक्ष ओली पार्टीभित्र पूर्वएमाले मात्रै होइन, पूर्वमाओवादीको समेत भूमिकालाई कमजोर बनाउन चाहन्छन् । बादललाई साथ लिँदाखेरि केन्द्रदेखि जिल्लासम्म पूर्वमाओवादीलाई कमजोर बनाउन सकिने र महाधिवेशनमा आफ्नो समूहलाई फाइदा पुग्ने केपी ओली पक्षको आँकलन देखिन्छ ।

मन्त्री थापाले पूर्वमाओवादी नेताहरुलाई भन्दा पनि केपी ओलीलाई बढ्ता विश्वास गर्न थालेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । नेकपाका कतिपय नेताहरुका अनुसार यसअघि प्रधानमन्त्री ओलीसँग मिलेर सिके राउतसँग विवादास्पद सहमतिपत्रमा हस्ताक्षर गर्दा गृहमन्त्री बादलले प्रचण्डलाई पूर्वजानकारी नै नदिई गुमराहमा राखे । त्यसैगरी बंशजको नागरिकता वितरणसम्बन्धी सर्कुलरमा पनि गृहमन्त्री थापाले पार्टीभित्र छलफल नगरेको नेताहरु बताउँछन् ।
पछिल्लो समयमा मिडिया काउन्सिलसम्बन्धी विधेयकमा १० लाख सजायँको व्यवस्था गर्ने सवालमा पनि गृहमन्त्री थापाको भित्री हात रहेको नेताहरु बताउँछन् । मन्त्रिपरिषदमा छलफल हुँदा ओली पक्षका नेताहरुले १ लाखसम्म जरिवाना गर्नुपर्छ भन्दा बादलले १० लाख गर्नुपर्छ भनेको ओली निकटकै नेताहरुको भनाइ छ ।

जानकारहरुका अनुसार बादल जनयुद्धकालदेखि नै प्रेसप्रति नकारात्मक सोचाइ भएका नेता हुन् । गृहमन्त्री थापा आफ्ना निकटस्थ र कार्यकर्ताहरुलाई पत्रकारको संगत नगर्न र टाढै बस्न निर्देशन दिने गर्छन् । उनमा लोकतान्त्रान्त्रिक संस्कार कम र अधिनायकवादी संस्कार बढी छ ।

तर, मिडियामाथि दमनको सोचाइमा रहेका प्रधानमन्त्री ओलीलाई पनि अहिले यस्तै सारथी चाहिएको छ । त्यसैले ओली र बादलको ‘केमेष्ट्री’ सूत्रहरुको विश्लेषण छ ।

पार्टी हाँक्ने क्षमतामा आशंका

करिब ७ लाख पार्टी सदस्यहरु रहेको एकीकृत नेकपाको संगठन विभाग हाँक्न सक्ने कुरामा भने नेकपाका नेताहरु बादलमाथि शंका गर्छन् । उनीहरुको शंका दुईवटा कारणले छ-

एक त उनी गृहमन्त्रालयको व्यस्त जिम्मेवारीमा छन्, जसले गर्दा दोहोरो जिम्मेवारी निर्वाह गर्न कठिन छ । दोस्रो- विगतमा प्रचण्ड समूह र वैद्य समूहमा महासचिव चलाउँदा बादल असफल सावित भइरहेका नेता हुन् । सानो पार्टीसमेत राम्रोसँग हाँक्न असमर्थ भएपछि उनी मोहन वैद्य समूह छाडेर प्रचण्ड समूहमा विलय भएका हुन् । साँधुरो घेरामा रमाउन खोज्ने र बाहिर दुनियाँमा भन्दा अँध्यारो कोठामा भूमिका खेल्न रुचाउने स्वाभावका कारण भीमकाय पार्टीको संगठन विभाग चलाउनु गृहमन्त्री बादलका लागि साँच्चै नै चुनौतीपूर्ण नै हुने देखिन्छ ।

सचिवालयमा ओली-बादललाई अप्ठ्यारो
अध्यक्ष केपी शर्मा ओली पक्षले गृहमन्त्री रामबहादुर बादललाई संगठन विभागको प्रमुख बनाउने प्रस्ताव गरे पनि सचिवालयबाट यो प्रस्ताव स्वीकृत गराउन ओलीलाई अप्ठ्यारो छ । नेकपाको ९ सदस्यीय सचिवालयमा केपी ओलीको पक्षमा उनीसहित ४ जना नेताहरुमात्रै छन् । ओलीपक्षमा सचिवालयमा केपी ओली, ईश्वर पोखरेल, विष्णु पौडेल र बादलसमेत गरी ४ जना छन् । विपक्षमा भने प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।

प्रचण्ड लगायतका पाँच भाइ नेताले चाहिँ सरकारको नेतृत्व नसम्हालेको फुर्सदिलो नेताले संगठन विभागको जिम्मा लिनुपर्ने अडान राखेका छन् । नेकपाभित्र दोहोरो जिम्मेवारीको विरोध हुँदै आइरहेको छ । Source: Onlinekhabar.com