कार्यालयमा मेरो होइन आफ्ना बच्चाको तस्बिर राख्नू, निर्णय गर्दा तिनका आँखामा हेर्नू : युक्रेनी राष्ट्रपति

166

एजेन्सी, जेठ ७,
काठमाडौँ । हाँस्यकलाकारबाट युक्रेनका राष्ट्रपति बनेका भोलोदमिर जेलेन्स्कीले पद तथा गोपनियताको सपथ लिएका छन्। निर्वाचित भएको एक महिनापछि जेलेन्स्कीले सोमबार राष्ट्रपतिको कार्यभार सम्हालेका हुन्। पदभार ग्रहण समारोहमा बोल्दै जेलेन्स्कीले सबै युक्रेनी देशको राष्ट्रपति भएको प्रतिक्रिया दिए। उनले देशभरिका कार्यालयमा आफ्नो तस्बिर नझुण्ड्याउन निर्देशन दिए।

‘त्यहाँ मेरो होइन तपाईंहरूको तस्बिर हेर्न चाहन्छु। राष्ट्रपति कुनै आइकन होइन, न मुर्ति हो, राष्ट्रपति न त पोट्रेट नै हो। त्यो ठाउँमा तपाईंका बच्चाहरूका तस्बिर राख्नुस् अनि हरेक निर्णय गर्नुभन्दा पहिला उनीहरूका आँखामा हेर्नुस्,’ राष्ट्रपतिले भने।

को हुन् जेलेन्स्की?

देशको कार्यकारी पद सम्हालेको अभिनय गर्ने कलाकारले साँच्चै त्यही जिम्मेवारी पाए भने के गर्लान्? धेरै कलाकारले यो प्रश्नको उत्तर खोजिराख्नु पर्दैन। किनकी उनीहरू त्यो अभिनयलाई कामको अंगमात्र ठान्छन्। कलाकारिता छोडेर सक्रिय राजनीतिमा आउँदैनन्, आए पनि चुनाव जित्न सक्दैनन्। पूर्वी युरोपियन मुलुक युक्रेनका हाँस्यकलाकार ४९ वर्षिय भोलोदमिर जेलेन्स्कीका एक महिनाअघि साँच्चै राष्ट्रपतिको चुनाव जिते त्यो पनि भारी मतका साथ।

राष्ट्रपतिको दोस्रो चरणको मतदानमा जेलेन्स्कीले ७३ प्रतिशत मत पाए। उनका प्रतिष्पर्धी राष्ट्रपति पेट्रो पोरोसेन्कोले जम्मा २५ प्रतिशत मत ल्याए। सर्भेन्ट अफ द पिपुल अर्थात् जनताको सेवक नामको हाँस्य टेलिसिरियलमा युक्रेनको कुलीनतन्त्रलाई तोड्दै संयोगवस राष्ट्रपति बन्ने पात्रको अभिनय गर्ने जेलेन्स्कीलाई युक्रेनीहरूले वास्तविकतामै संस्थापनविरूद्धको प्रतीकका रूपमा अर्थ्याएका छन्।

तत्कालीन राष्ट्रपति पोरोसेन्को सन् २०१४ मा रूसले युक्रेनको क्रिमियालाई रूसमा गाभेपछि रूसविरोधी नारा दिएर सत्तामा आएका थिए। तर उनको कार्यकाल पनि युक्रेनीको जीवनस्तरमा सुधार नआएको र सरकारी भ्रष्टाचार झन् बढेको भन्दै नागरिकमा असन्तुष्टि थियो।

युक्रेनका राष्ट्रपतिलाई सुरक्षा, प्रतिरक्षा र विदेश नीति निर्धारणमा विशेष भूमिका हुन्छ। चुनावी प्रचारताका सरकार कसरी चलाउने भन्ने स्पष्ट भिजन सार्वजनिक नगरेको, यसअघि कुनै राजनीतिक जिम्मेवारी नसम्हालेको र संगठनभन्दा पनि स्टारडमको प्रयोग गरी नागरिकलाई हसाएर चुनाव जितेका जेलेन्स्कीले वास्तविक जीवनमा यसको प्रयोग कसरी गर्छन् भन्ने हेर्न बाँकी छ। उनको राष्ट्रपति कार्याकाल किन पनि कठिन छ भने युक्रेनको राजनीतिमा पूर्वीछिमेकी शक्ति राष्ट्र रूसको प्रभाव निकै बलियो छ। पाँच वर्षअघि रूसविरोधी नारा दिएर चुनाव जितेका हारपछि ट्वीटरमा भनेका लेखेका थिए- अनुभवविहीन युक्रेनको एउटा नयाँ राष्ट्रपति छिट्टै रूसी प्रभावको कक्षभित्र पर्नेछन्। Setopati