क्यानेडियन नागरिकविरुद्ध २५ बालकको उजुरी

96

नयाँ पत्रिका
जेठ ८, काठमाडौं । क्यानडामा पक्राउ परेका एक क्यानेडियन नागरिकविरुद्ध नेपालमा २५ वटा उजुरी परेका छन् । क्यानेडियन नागरिक पाउल म्याकार्थीले आफूहरूमाथि यौनदुराचार गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी परेको हो । म्याकार्थीले युरोपियन युनियनका लागि भ्रष्टाचार नियन्त्रणसम्बन्धी कार्यक्रमको परामर्शदाताका रूपमा काम गर्दा बाल यौनदुराचार गरेको आरोप लगाइएको छ । क्यानडामा पक्राउ परेपछि उनको अपराध बाहिर आएको हो । उनीविरुद्ध नेपालमा समेत अनुसन्धान अघि बढाइएको सिआइबीका डिएसपी कवित कटवालले बताए । बौद्धस्थित एक संस्थाका बालबालिकालाई सहयोगको आवरणमा उनले शोषण गर्दै आएको प्रहरीले जनाएको छ । बालकहरूलाई आफ्नो डेरामा लगेर अप्राकृतिक यौन गतिविधि गरेको पीडित बालकहरूले उजुरीमा उल्लेख गरेका छन् । उनलाई फरार अभियुक्तका रूपमा मुद्दा दायर गर्ने प्रहरीको तयारी छ ।

रेड नोटिस जारी गर्न इन्टरपोलमा पत्राचारको तयारी
करिब तीन महिनाअघि क्यानडा प्रहरीले उनलाई विशेष सूचनाको आधारमा विमानस्थलमै पक्राउ गरेको थियो । नेपालमा उनी बौद्धस्थित एक संस्थामा समाजसेवी बनेका थिए । सोही संस्थाका बालकहरूलाई आफ्नो डेरामा लैजाने र अप्राकृतिक यौन क्रियाकलाप गर्ने खुलेको छ । मुद्दा दायरपछि उनीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गर्ने प्रहरीको तयारी छ ।