सिजन सुरु भएको चार दिनमा ५३६ पर्यटक जिल्लामा भित्रिए

128

जेठ ८,
सिमकोट । सिजन सुरु भएको चार दिनमा मानसरोवर कैलाशका लागि भारतीय धार्मिक पर्यटकहरु ५३६ जना भित्रिएका छन् । हवाई यातायात सहज हुँदा मानसरोवर कैलाशका धार्मिक पर्यटकहरु भित्रिन सफल भएका हुन । गत शनिबारबाट धार्मिक पर्यटकहरु जिल्ला भित्रिने कार्य मंगलबारसम्म आएर ५३६ जना पुगेको विमानस्थल सुरक्षा पोष्टका प्रहरी नायव निरीक्षक सुधिर खड्काले बताउनु भयो । जसमा शनिबार पहिलो दिन ६२ जना, आईतबार १९२ जना र सोमबार १६१ जना, चौथो दिन मंगलबार १२१ पर्यटकहरु जिल्लामा भित्रिएको उहाँले बताउनु भयो ।

जिल्लामा भित्रिएका मध्ये ४१३ जना मानसरोवर कैलाशका लागि सिमकोटबाट हिल्सा हेलिकोप्टरमा प्रस्थान गर्ने पर्यटकहरुको संख्या पुगेको प्रहरीले जनाएको छ । त्यसमा पहिलो दिन नौ जना, दोस्रो दिन ११६ जना र तेस्रो दिन १०२ जना र चौथो दिन १८६ जनाले सिमकोटबाट हिल्सा यात्रा गरेका छन् । मानसरोवर कैलाशको यात्रा गरेर भने कुनै पनि पर्यटकहरु फिर्ता भएका छैनन् । होटेल व्यवसायी संघले मौसमसंग घुलमिल हुन आउदा एक रात सिमकोट बस्नै पर्ने निर्णय गरे अनुसार पर्यटकहरु एक रात सिमकोट बस्दै आएका छन । सिमकोट बजारमा भारतीय पर्यटकहरुको चाप बढेको छ भने नजिकको शिव मन्दिरमा पनि भारतीयहरुको घुईचो लाग्ने गरेको छ ।

सिमकोटका होटेलहरुमा पर्यटकहरुको चहल पहल बढी हुन थालेको छ । सिजन सुरु भए पछि दैनिक नेपालगंजबाट सिमकोटका लागि समिट, सीता र तारा एयरका छ वटा जहाजहरुले १८ भन्दा बढी फ्लाईट उडान भर्ने गरेका छन् भने सिमकोटबाट हिल्साका लागि २२ फ्लाईटसम्म हेलिकोप्टरहरुले उडान भर्दै आएका छन् । बिहानबाट बेलुकीसम्म हेलिकोप्टरले हिल्सा उडान भर्ने गरेका छन् । हाल सिमकोटमा समिट र माउण्टेनका दुई वटा हेलिकोप्टरहरु नाईट स्टे रहदै आएका छन् ।-gorkhapatraonline.com