मलेसियाली मन्त्रीको आग्रह ‘नेपाली कामदार छिटो मलेसिया पठाईदिनुहोस्’

138

जेठ ९,
काठमाडौँ । एक वर्षदेखि बन्द रहेको मलेसिया रोजगारी जतिसक्दो छिटो सुचारु गर्न मलेसियाले आग्रह गरेको छ। मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले स्वास्थ्य परीक्षणको विषय यथासक्य छिटो टुंग्याएर नेपाली कामदार मलेसिया आउने वातावरण निर्माण गर्न आग्रह गरेका छन्। मन्त्री कुलासेगरन र मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेबीच आज पुत्रजयामा भएको करिव एक घण्टा लामो भेट बारे जानकारी दिंदै पाण्डेले नागरिक न्युज सँग भने-‘उहाँको चासो जसरी हुन्छ नेपाली कामदार मलेसिया पठाईदिनु पर्यो भन्नेमै केन्द्रित थियो। के विषयमा समस्या छन् सबै छलफल गरेर टुंग्याऔं। अहिलेलाई स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट गरेर नेपालीहरु आउने वातावरण बनाईदिनुस।’

मलेसियाको स्वास्थ्य परीक्षण गर्न आवेदन दिएका इच्छुक स्वास्थ्य संस्थाको निरीक्षण श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिरहेको छ। राजदूत पाण्डेले कामदार पठाउने विषयमा नेपाली पक्षबाट कुनै अवरोध नरहेको आफुले प्रस्ट पारेको बताए।

मलेसिया जाने कामदार माथि आर्थिक भार थोपरेको भन्दै श्रम मन्त्रालयले गत वर्ष जेठ २ गते मलेसियाको भिसा प्रक्रिया र स्वास्थ्य परीक्षणमा आवद्द संस्था खारेज गर्ने निर्णय गरेपछि मलेसिया रोजगारी बन्द भएको थियो। बन्द भएको ५ महिनापछि (२०७५ कार्तिक १२) नेपाल र मलेसियाबीच श्रम सम्झौता भयो। तर सम्झौता भएको ५ महिनापछि मात्र मलेसिया रोजगारी आंशिक रुपमा खुल्यो। श्रम मन्त्रालयले गत चैत्र १७ गते कलिंग भिसा प्राप्त गरेका कामदारलाई श्रम स्वीकृति दिन निर्देशन दिएपछि कलिंग भिसा आएका करिव ३ हजार कामदारले मलेसिया जान पाएपनि नयाँ कामदार जाने प्रकृया भने स्वास्थ्य परीक्षण गर्ने संस्था छनोट नहुँदा सुरु हुन सकेको छैन।

विगतमा मलेसियाको स्वास्थ्य परीक्षण गर्दै आएका संस्थालाई पुनः मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने जिम्मा दिन श्रम मन्त्रालय राजि नभएपछि नयाँ स्वास्थ्य संस्था छनोटको प्रक्रिया आरम्भ गरिएको हो।

सम्झौताको जगमा टेकेर नयाँ प्रक्रियाबाट मलेसिया रोजगारी सुचारु गर्न दुवै देश सहमत देखिए पनि कामदार जाने प्रक्रिया आरम्भ नहुँदा पुरानै सिन्डिकेट पुनः दोहोरिने होकी भन्ने आशंका छ। दुई देशबीच सम्पन्न सम्झौतालाई आधार मानेर नेपाली कामदार नठगिने बाटोको खोजिगर्दा मलेसिया रोजगारी सुचारु हुन समय लागेको श्रम मन्त्रालयको भनाइ छ।-nagariknetwork.com