बिहीबारदेखि न्यूरोडमा स्मार्ट पार्किङ सुरु

140

जेठ १२,
काठमाडौँ । बिहीबारदेखि न्यूरोडमा स्मार्ट पार्किङ सञ्चालनमा आउन लागेको छ। काठमाडौं महानगरपालिकाले ह्विल्स टुली योर्स प्रालिसँगको सहकार्यमा न्युरोड र आसपासका ५ ठाउँमा स्मार्ट पार्किङ सञ्चालनमा ल्याउन लागेको हो। रामेश्वर मिठाइपछाडिको भाग, विशाल बजारअगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, पाको र आरबी कम्प्लेक्सअगाडिको गरी पाँच स्थानमा स्मार्ट पार्किङ सुरू गर्न लागिएको महानगरपालिकाले जनाएको छ।

कर्मचारी प्रशिक्षणलगायतका काम सकिसकेकोले यही बिहीबारदेखि स्मार्ट पार्किङ सुरू हुने ह्विल्स टुलीका सूचना प्रविधि कोअडिनेटर हरिश अग्रवालले जानकारी दिए। ‘सबै तयारी सकियो, बिहीबारबाट औपचारिक रूपमा स्मार्टपार्किङ सुरू हुन्छ,’ अग्रवालले भने।

१ साता पार्किङ नि:शुल्क गरिने उनले जानकारी दिए। ‘हामी जनचेतनाको लागि साता दिन नि:शुल्क पार्किङ गर्न दिन्छौं, यसले उहाँहरूलाई पार्किङ शुल्कलगायतको जानकारी हुन्छ,’ उनले भने। यो कार्यक्रम लागू भएपछि मोबाइल एपबाट पार्किङ छ कि छैन भन्ने हेर्न सकिनेछ। ठाउँ खाली भए बुक पनि गर्न सकिने अग्रवालले बताए। पार्किङ बुक गर्न त्यहाँ जानुअघि मोबाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेरेर आफूलाई उपयुक्त लागेको स्थान बुकिङ गर्नु पर्नेछ। पार्किङ बुकिङ १५ मिनेट अगाडि मात्र गर्न सकिनेछ।

त्यस ठाउँमा पार्किङको अवस्था जानकारी दिन एलइडी स्कृन राखिएको हुन्छ। रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर रिजर्भ नभएको पार्किङ गर्ने ठाउँ हेर्न सक्छन्। पार्किङको लागि दुई पांग्रे सवारीले प्रतिघन्टा २५, चार पांग्रेले ६० रुपैयाँ तिर्नुपर्नेगरी शुल्क निर्धारण गरिएको छ। पार्किङलाई मर्या्दित र व्यवस्थित बनाउन ५५ जना पार्किङ अटेण्डेन्ड खटाइने छ। यो सेवा लिन मोबाइलमा ‘पार्क केटिएम’ नामक एप डाउनलोड गर्नुपर्नेछ। यो एप एन्ड्रोइड प्रयोग कर्ताको लागि प्ले स्टोरमा उपलब्ध छ भने एप्पल एप स्टोरमा पनि छिट्टै राखिने जानकारी दिए।

वैशाखदेखि स्मार्ट पार्किङ सुरु गरिने भनिए पनि प्राविधिक काम पुरा नहुँदा ढिलाई भएको ह्विल्स टुलीले जनाएको छ। Setopati.com