पहिलो पार्टी हुन श्रमिकको साथ चाहिन्छ : सुरेन्द्र पाण्डे

214

जेठ १५,
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा विपक्ष दलका नेता सुरेन्द्र पाण्डेले आगामी निर्वाचनमा पहिलो पार्टी हुन श्रमिकको साथ हुनु पर्ने बताउनु भएको छ । नेपाल ट्रेड युनियन कांग्रेस,ललितपुर जिल्ला समितिले श्रमिक जागरणकालागी आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो विचार व्यक्त गर्नु भएको हो ।

उनले नेपालको लोकतन्त्रको जग नै नेपाली श्रमिक आन्दोलन भएकोले श्रमिकहरुको साथ रहे कुनै पनि शक्तिले कांग्रेसलाई पराजित गर्न नसक्ने बताउनु हुदै नेपाली कांग्रेसले शुरु गरेको जागरण अभियानमा सकृय भुमिका निर्वाह गर्न अपिल गर्नु भयो । ललितपुर जिल्ला सभापति मदन बहादुर अमात्य, महासमिति सदस्य जितेन्द्र कुमार श्रेष्ठले लोकतन्त्रमा मात्र श्रमिक अधिकार सुनिश्चित हुने भएकोले सबै श्रमिकहरुलाई लोकतन्त्रको पक्षमा उभिउन आग्रह गर्नु भयो ।

ट्रेड युनियन कांग्रेस ललितपुरका अध्यक्ष कमल कुमार विष्टले ट्रेड युनियन कांग्रेस नै नेपालको लोकतान्त्रिक आन्दोलनको जननी रहेको बताउनु हुदै लोकतन्त्र स्थापना पछि श्रमिकको योगदानलाई बिर्सिन थालेको आरोप लगाउनु भयो । कार्यक्रममा ट्रेड युनियन कांग्रेस ललितपुरका विभिन्न २७ वटा आबद्ध संघहरुबाट श्रमिक नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।