गोल्छाले हिजो बुटवलबाट प्यानल सहित गरे औपचारिक घोषणा, प्रधानले भोलि काठमाण्डौंबाट घोषणा गर्दै

354

चैत्र ७,
काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा प्यानल सहित शेखर गोल्छाले हिजो बुटवलबाट औपचारिक घोषणा गरेका छन् । गोल्छाले जिल्ला तथा नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसियट उपाध्यक्षमा चन्द्र ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञानेन्द्रलाल प्रधान सहितको उम्मेदवारी घोषणा बुटवल पुगेर गरेका हुन्। यस अघि वस्तुगत उपाध्यक्षको जिम्मेवारी वहन गरिसकेका दिनेश श्रेष्ठ यस पटक जिल्ला नगर तर्फको उपाध्यक्षको उम्मेदवार बनेका छन् । त्यस्तै एशोसियट उपाध्यक्षका उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा एशोसियट तर्फको कार्यकारिणी सदस्यमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए ।
बरिष्ठ उपाध्यक्षको उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षको उम्मेदवार गोल्छाले आफू पछिल्लो ६ महिनामा महासंघका ४२ जिल्ला पुगेको र त्यसक्रममा जिल्लाका साथीहरुको स्नेह पाएकाले वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न प्रेरणा मिलेको चर्चा गरे। उम्मेदवारी घोषणालाई आफ्नो जीवनको अविस्मरणिय क्षणको रुपमा रहेको उनले बताए ।‘चेम्बर आन्दोलनमा ६ दशक बिताएको विगत सम्झदै त्यही अनुभवको आधारमा आफू अघि बढ्न लागेको विचार व्यक्त गरे ।
आगामी दिनमा धेरैवटा ऐन बन्ने क्रममा रहेको र त्यसलाई निजी क्षेत्र मैत्री बनाउनुपर्ने र सचिवालय सुधार गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । घोषणा सभामा अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष भवानी राणा र पूर्वअध्यक्ष चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ लगायतका व्यवसायीहरु बुटवल पुगेका थिए ।
प्रधान प्यानलको औपचारिक घोषणा भोलि

किशोर कुमार प्रधान
यसै वीच वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर कुमार प्रधान प्यानलको औपचारिक घोषणा भोलि सम्म हुन सक्ने प्रबल सम्भावना रहेको प्रधानले बताए । उनले भने ‘जिल्ला नगर र वस्तुगतको उपाध्यक्षको उम्मेदवारको घोषणा भइसकेको छ एशोसियटको आज भोलिमै गर्ने गरि हामी वर्क आउटमा छौं ।’ कोषाध्यक्षको भने अहिले उम्मेदवार घोषणा गर्नु नपर्ने उनले बताए । ‘कोषाध्यक्ष पछि कार्यसमितिले चयन गर्ने हुँदा अहिले उम्मेदवारी घोषणा गर्नु उपयुक्त होइन ।’ यस अघि प्रधान प्यानलबाट जिल्ला नगरको उपाध्यक्षमा म्यग्दी उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद श्रेष्ठ र विगत १२ वर्ष देखि उद्योग वाणिज्य महासंघको विभन्न तहमा रहि ट्रेड कमिटि, बैंक फाइनान्स तथा इन्स्योरेन्स समितिको सभापति रहि सकेका शंकर प्रसाद पाण्डेले वस्तुगत तर्फको उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।