केन्द्रिय सदस्य सहित सिंगो जिल्ला कमिटी माओवादीकेन्द्रमा

5050

चैत्र १४, अछाम ।
नेकपा (क्रान्तिकारी) माओवादीलाई सुदूरपश्चिममा झट्का लागेको छ । उक्त पार्टीका केन्द्रिय सदस्य तथा अछाम÷बाजुरा ईञ्चार्ज सहितको टिम माओवादी केन्द्रमा समाहित भएपछि सुदूरपश्चिममा पार्टीलाई ठुलो झट्का लागेको हो ।
क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य तपेन्द्र भण्डारी (बरुण) र पार्टीका अछाम जिल्ला सचिव खडक सिंह भण्डारी लगायत सदुरपश्चिमका अधिकाँश क्रान्तिकारी माओवादीका नेताहरु सोमबार माओवादी केन्द्रमा प्रवेश भएका हुन । सोही क्रममा ३१ सदस्यिय क्रान्तिकारी माओवादीको पुरै अछाम जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएको जनाईएको छ ।
स्थानिय चुनावका लागि रणनीति तय गर्न अत्तरियामा भएको नेकपा माओवादी केन्द्र प्रदेश नम्वर ७ को बिस्तारित बैठकमा पार्टीका प्रदेश ईञ्चार्ज लेखराज भट्टले माओवादी केन्द्रमा प्रवेश हुने क्रान्तिकारीका केन्द्रिय सदस्य सहितका नेताहरुलाई स्वागत गरेका थिए ।
माओवादी आन्दोलनलाई अलग-अलग हिडेर अगाडी बढाँउन नसकिने भन्दै बिगत २ महिना देखीको छलफललाई मुर्त रुप दिन यो निर्णय लिईएको नेता तपेन्द्र भण्डारी बरुणले जानकारी दिए । हिजो संगै हिडेका र संगै लडेकाहरु एकजुट भएर लाग्दा मात्रै माओवादी बलियो हुने र जनताका अधिकार स्थापित गर्न सकिने भण्डारीले बताए ।
सेती महाँकालीका अन्य नेताहरुसंग पनि यो विषयमा थप छलफल भईरहेको उनको भनाई छ । भण्डारी अछाम तथा समग्र सुदूरपश्चिमको माओवादी आन्दोलनमा शसक्त योद्धाको रुपमा जनयुद्धकाल देखी नै सक्रिय नेता हुन । केन्द्रिय सदस्य तथा अछाम÷बाजुरा ईञ्चार्ज सहित पुरै अछाम जिल्ला कमिटी माओवादी केन्द्रमा समाहित भएपछि माओवादी नेता कार्यकर्तामा उत्साह थपिएको नेकपा माओवादी केन्द्रका अछाम जिल्ला संयोजक झपट साउदले जानकारी दिए ।