अब टेलिकमबाट सेवाग्राहीलाई ‘ब्यालेन्स लोन’ प्राप्त हुने

294

चैत १५,
काठमाडौँ । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइल सेवाका सेवाग्राहीलाई ब्यालेन्स नहुँदा कल गर्न लोन रकम उपलब्ध गराउने भएको छ । टेलिकम र हङकङस्थित टियक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टर प्रालिबीच यही चैत ६ गते सोबारे सम्झौता भई आज सार्वजनिक गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । सम्झौतानुसार उपभोक्तालाई कम्पनीको जिएसएम तथा सिडिएमए प्रिपेड मोबाइलबाट कुरा गर्दागर्दै सकिएको ब्यालेन्समा लोन रकम उपलब्ध हुनेछ ।
कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त सम्झौतापत्रमा टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी र हेमन्त ट्रेड सेन्टरका तर्फबाट प्रालिका निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गर्नुभएको टेलिकमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
सो सुविधा प्रयोग गरेबापत थप कुनै ‘चार्ज’ वा ब्याज नलिई उपभोक्तालाई लोन (ऋण) उपलब्ध हुने र रिचार्जपछि उपलब्ध हुने ब्यालेन्सबाट कट्टा हुनेछ । सम्झौतानुसार सो सुविधा सम्झौता भएको मितिले पाँच महिनाभित्र सञ्चालन गरिने बताइएको छ ।