यस्तो छ निमार्ण व्यबसायीको गुनासो

637

चैत २३
भक्तपुर । निर्माण व्यवसायी संघ भक्तपुरले सरकारले सार्वजनिक खरिद नियमावली २०६४ मा गरेको पाँचौ संशोधन सच्याउन माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
संघका अध्यक्ष निरञ्जन बजगाईको नेतृत्वमा गएको निर्माण व्यबसायीको टोलीले भक्तपुरका प्रजिअ द्रोण पोखरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझाउनु अघि संघको कार्यालयमा आयोजना भएको पत्रकार सम्मेलनमा अध्यक्ष बजगाईले सरकारले गत पुस ९ गते सार्वजनिक खरिद नियमावली २०६४ मा चौथो संशोधन भएको तीन महिना पनि नबित्दै फागुन २६ गते पुनः पाँचौ संशोधन गरेको भन्दै आपत्ति जनाउनु भयो ।
सरकारले निर्माण व्यवसायीहरुको छाता संगठन निर्माण व्यबसायी महासंघलाई समेत वेवास्ता गरी गरेको संशोधनले निर्माण व्यबसायीको रोजीरोटी खोस्ने काम भएको बताए ।
निर्माण कार्य गराउँदा रु. ६० लाखसम्मको काम उपभोक्ता वा समुदायबाट गराउन सकिने र त्यो भन्दा माथि बोलपत्र आव्हान गर्नुपर्ने नियमलाई संशोधन गरी उपभोक्ताले रु. एक करोडसम्मको काम गर्न सक्ने व्यबस्था गरेकोमा संघको आपत्ति रहेको जनाएको हो ।
संघले पुरानै व्यबस्था ६० लाख रुपैयासम्मको निर्माण कार्य मात्रै उपभोक्ताले गर्न पाउने व्यबस्थालाई कायम गर्दै बृद्धि गरेको एक करोडसम्मको व्यबस्था खारेज गर्न माग गरेको हो ।
संघको माग बेवास्ता गरिए आगामी बैशाख ७ गते हुने महासंघको राष्ट्रिय भेलाले संशोधनको विरोधका आन्दोलनको कार्यक्रम अघि सार्ने बताए ।