महिला सिटमा बस्दा पक्राउ

274

दाङ–सार्वजनिक सवारी साधनको महिला सीटमा अटेर गरी बस्ने ८ जनालाई सोमबार दाङमा प्रहरीले नियन्त्रणमा लिएको छ। महिला सीटमा नबस्न पटक पटक गरेको आग्रह बेवास्ता गरेको भन्दै प्रहरीले पाँचवटा सार्वजनिक सवारी साधनबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। चार बस र एउटा हायसबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक धिरज प्रताप सिंहका अनुसार पक्राउ परेका आठैजनालाई सोमबार बेलुकासम्म नियन्त्रणमै राखेर सोधपुछ गरिएको थियो। ‘नियम पालना गर्न लगाउँदा अटेर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिएका हौँ,’ उनले भने, ‘उनीहरुसंग सोधपुछ भइरहेको छ।’
HDRtist HDR - http://www.ohanaware.com/hdrtist/
प्रहरीले यसलाई आरक्षण सीटको सही कार्यान्वयनको नसियत भनेको छ। सोमबार विभिन्न महिला क्षेत्रमा क्रियााशील अधिकारकर्मी तथा प्रहरीहरु बसमा महिला मैत्री व्यवहार भए नभएको अनुगमनका लागि ठाउँठाउँमा खटिएका थिए। प्रहरीका अनुसार योे चेकजाँच जिल्लाका तुलसीपुर, बिजौरी,नारायणपुर, गोग्ली लगाएतका स्थानमा थियो। हरेक सवारी साधन रोकेर जाँच गरियो। चेकजाँचमा महिला सीटमा बसेका पुरुषहरुलाई उक्त सिटमा नबस्न आग्रह गरिएको थियो। प्रहरीको आग्रहलाई बेवास्ता गरेर सिट छाड्न नमानेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। ‘सुरुमा एकठाउँमा सम्झाइन्थ्यो, अनि सोही बसलाई अर्को ठाउँमा चेकजाँच गर्दा उही व्यक्ति अटेर गरेर महिला सीटमै बसेको पाइएपछि नियन्त्रणमा लिएका हौँ,’ सिंहले भने। प्रहरीका अनुसार यी सवारी साधनमा महिला उभिएका तर पुरुष महिलाको सिटमा बसेका थिए। ‘महिलाले सिट माग्दा पनि नदिएको अवस्था भेटियो,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख अरुणकुमार सिंहले भने, ‘महिलाहरु उभिएको तर महिला सिटमा पुरुष बसेको अवस्था देखेपछि नियन्त्रणमा लिएका हौँ।’ सार्वजनिक सवारी साधनमा आरक्षण सिटको सही सदुपयोग नगरेको भन्दै सवारी चालक तथा सवारी साधनहरुलाई कारवाही गर्दै आएको थियो। तर महिला सिटमै बसेका कारण पुरुष यात्रु पक्राउ परेको भने यो पहिलो घटना हो। ‘हामीले सिट आरक्षणको जुन व्यवस्था छ त्यो कार्यान्वयन भएको नपाएपछि धेरै सवारी साधनहरुलाई कारवाही गर्दै आएका छौँ,’ ट्राफिक प्रहरी निरीक्षक सिंह भन्छन्, ‘यसमा यात्रु स्वयंकै पनि कमजोरी देखिएकाले उनिहरुलाई सजग बनाउनका लागि नियन्त्रणमा लिइएको हो।’