प्रहरीले समात्यो ‘फिल्मी शैली’ का चोर

294

मंसिर २८
रुपन्देही–बुटवलको देवदह र त्यस आसपासका स्थानमा सुतिरहेका महिलाको टाउकोमा ओजनदार हतियारले हानेर गलाको सिक्री तथा कानको गहना लुटिने क्रम पुरानो भैसकेको थियो । २०६८ सालयता शुरु भएको नयाँ अपराधको जरोमा पुग्न खोज्दै थियो प्रहरी, तर फरक खाले अपराधको जरो उखेल्न करिब ६ बर्ष लाग्यो । २०६८ सालदेखि यता भदौ र कात्तिक महिनाको समयमा दशैं, तिज तथा तिहारको मौकामा सुतिरहेका वृद्ध महिला, सुत्केरी तथा एकल महिलाहरुमाथी ओजनदार हतियारले हानेर बेहोस बनाएपछि गहना तथा धनमाल चोरेर भाग्ने सर्लाहीका चनरु हजारी ९पासवान० लाई ईलाका प्रहरी कार्यालय वुटवलले पक्राउ गरेको छ । कान र गलामा सुन लगाएका महिलाहरु बस्ने घरहरु दिनभरी रेकी गरेर मध्यरातमा फलामे औजारको झोला बोकेर चोर्न हिँड्थे चनरु हजारी । ईलाका प्रहरी कार्यालय वुटवलका डिएसपी मुकुन्द मरासिनीका अनुसार घरका अन्य परिवार सुतेका कोठाहरुमा बाहिरबाट चुक्कुल लगाईदिएर वृद्ध तथा एकल महिला सुतिरहेको घर–कोठामा प्रवेश गरेर उनिहरुको कञ्चटमा फलामको धारिले हतियारले हानेर बेहोस बनाएपछी चनरु गहना लुटेर भाग्थे । उनले यसरी सुतेका मान्छेलाई कञ्चटमा हानेर १५ स्थानमा लुटपाट मच्चाए । ‘उनले कञ्चटमा हानेर बेहोस बनाएका एक पुरुष र चार महिलाको उपचारको क्रममा मृत्यु भएको छ’ डिएसपी मरासिनीले भने, ‘लामो प्रयासपछी मात्र हामी यो घट्नाको गहिराईमा पुग्न सफल भयौं ।’
सर्लाहीको सुन्दरपुर चौराहा–८ पिपराभिट्टा स्थायी घर भएका ६० बर्षिय चनरुले यसरी सुतिरहेका मान्छेलाई बेहोस बनाएर चोर्ने गरेको यकिन भएपछि ईलाका प्रहरी कार्यालय वुटवलबाट खटिएको इन्सपेक्टर सहितको प्रहरी टोलीले ११ दिनअघि उनलाई पक्राउ गरेको थियो । उनीमाथी कर्तब्यज्यान, चोरी र ज्यानमार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको मरासिनीले जानकारी दिए । चनरुले लुटी लगेका सुनका गहना खरिद गर्ने सर्लाही बरथहवाका दिपक विश्वकर्मालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
रनमायाको मृत्युपछि बल्ल पोल खुल्यो
गएको भदौ तेस्रो साता रुपन्देही रुद्रपुर–५ की ३२ बर्षीया रनमाया पुनको कञ्चटमा ओजनदार हतियार प्रहार भयो । सुतिरहेको अवस्थामा बेहोस बनाइएकी रनमायाको गहना लुटिएको थियो, उपचारको क्रममा उनको मृत्यु भयो ।
त्यतिवेला डिएसपी मरासिनी भर्खरै ईलाका प्रमुख भएर वुटवल पुगेका थिए । ‘यस्ता घट्ना पहिले पनि हुनेगरेको रहेछ, त्यसपछि मैले पुराना फाईलमाथी अनुसन्धान शुरु गरेँ’ उनले भने, ‘चार महिना भन्दा लामो अनुसन्धान पछी बल्ल ६ बर्षदेखी जडकिएको अपराधको पोल खुल्यो ।’
चनरु हजारीले गहना लुट्ने उद्देश्यले कञ्चटमा हतियार प्रहार गर्दा रुपन्देहीका नेत्र कुमारी बस्ने, चन्द्र बहादुर कुँवर, चन्द्रकला सापकोटा र नमकला पाण्डेको उपचारका क्रममा मृत्यु भएको खुलेको छ । चनरु संलग्न भएको अन्य चोरिका घट्नाबारे पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनको साथबाट प्रहरीले चोरीका तिन थान मोवाईल, करिब दुई तोला सुन, एकथान फलामे औजार र त्यसको झोला बरामद गरेको छ । – ratoapti