ट्रिपर दुर्घटनामा परी ५ जनाको मृत्यु

136

काठमाडौं । कास्की र रामेछाप जिल्लामा भएको ट्रिपर दुर्घटनामा परी पाँच जननाको मृत्यु भएको छ । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको ज्यान गएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । एकजनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ । खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास–गाल्पा सडकमा ग्राबेलिङको काम गरेर पात्लेमा रहेको क्याम्पमा जाने क्रममा ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा सिन्धुपाल्चोक घर भएका वर्ष ३० का ट्रिपर चालक कुमार बिक, सिन्धुली भिमान घर भएका २३ वर्षका रुपेश भण्डारी, सर्लाही घर भएका २२ वर्षका बिकास पौडेल र ललितपुर चापागाउँ घर भएका वर्ष ३५ किरण डाँगी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रेम जोसीले जानकारी दिए । किरण डाँगी बा २ क १०३८ नम्बरका अर्का ट्रिपर चालक हुन् भने रुपेश भण्डारी जेसीभी हेल्पर हुन् । दुर्घटनामा ज्यान गुमाएका परिवारहरु सबै सम्पर्कमा नआएका कारण समस्या भएको सडकको काम गरिरहेको अनक कम्पनीका ठेकेदार केशव प्रधानले बताए । अहिले शव पोष्टमार्टमका लागि सदरमुकाम मन्थली ल्याइएको छ । यसैबीच पोखराबाट लेखनाथतर्फ जाँदै गरेको ग १ ख ३७१८ नम्बरको ट्रिपर पोखरा र लेखनाथ जोड्ने बिजयपुर पुलबाट खोलामा खस्दा ट्रिपर चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर १ का २७ वर्षीय टुकबहादुर क्षेत्रीको मृत्यु भएको छ ।